Give us a Call
056-493738 , 493798
Send us a Message
info@maulakalikahospital.com
Visit our Location
Bharatpur - 10 Chaubiskoti (In front of Airport)
मौलाकालिका अस्पतालका फिजिसियन डा. मदन ज्ञवालीले ज्वरो कम भए पनि डेंगुका बिरामी खतरामुक्त नहुने बताउनु भएको छ । कान्तिपुर हेल्थसँग कुराकानी गर्नुहुँदैन उहाँले ज्वरो कम भईसकेपछि पनि एक दुई दिनसम्म बिरामीलाई जोखिम कायम रहने बताउनु भएको हो । उहाँले भन्नुभयो “ ज्वरो निको भए पनि बिरामीलाई रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने, वान्ता हुने, शरीरमा राता दाग र बिमिराहरु देखिने, नाक र गिंजाबाट रगत बग्ने, छाती दुख्ने, पेट दुख्ने, श्वास फेर्न गाह्रो हुने जस्ता जटिलताका संकेत आउन सक्छन् ।” प्रस्तुत छ डा. ज्ञवालीसँग गरिएको कुराकानी :
डेंगु ज्वरो एकप्रकारको भाईरसको संक्रमणबाट हुन्छ । एडिस एजिप्टाई नामक संक्रमित पोथी लामखुट्टेको टोकाईबाट यो भाईरस मानिसमा सर्दछ । डेंगु रोग लागिसकेपछि अचानक उच्च ज्वरो आउने, टाउकोको अगाडिको भाग र आँखा दुख्ने, शरीरका मांसपेशीहरु दुख्ने, ढाड दुख्ने जस्ता लक्षणहरु देखिन्छन् । रोगको संक्रमण भएको एक दुई दिनपछि शरीरमा हल्का राता बिमिरा आउने समस्या पनि देखिन्छ ।
डेंगुको ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । ज्वरो घट्दै जाँदा शरीरमा फेरी हल्का राता बिमिराहरु देखिने र चिलाउने हुन सक्छ । ज्वरो कम भईसकेपछिको एक दुई दिनसम्म पनि बिरामी खतरामुक्त भने हुँदैनन् । यसलाई क्रिटिकल पिरियड (संवेदनशील समय) भनिन्छ । यो अवस्थामा बिरामीलाई रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने, वान्ता हुने, शरीरमा राता दाग र बिमिराहरु देखिने, नाक र गिंजाबाट रगत बग्ने, छाती दुख्ने, पेट दुख्ने, श्वास फेर्न गाह्रो हुने जस्ता जटिलताका संकेत आउन सक्छन् । यस्तो अवस्थामा बिरामी र बिरामीको हेरचाहा गर्नेहरु अलि बढी चनाखो हुनुपर्छ ।
डेंगुको संक्रमण भएपछि शरीरमा रक्तकोषिका उत्पादन गर्ने हड्डीभित्रको मासीलाई भाईरसले राम्रोसँग काम गर्न दिंदैन । त्यसकारण रगतमा सेता रक्तकोषिकाहरु (प्लेटलेस) कम हुन्छ । शरीरमा प्लेटलेस कम भएपछि त्यसले रगत जमाउने काम राम्रोसँग गर्न सक्दैन, त्यसपछि रक्तश्राव हुने समस्या आउन सक्छ ।
डेंगु रोगबाट बच्नका लागि लामखुट्टेको टोकाईबाट बच्नु नै प्रमुख उपाय हो । डेंगु सार्ने एडिस एजिप्ट जातको लामखुट्टैले मानिसको बासस्थान वरिपरि सफा पानीमा फुल पार्ने गर्दछ । त्यसकारण लामखुट्टेले फुल पार्ने ठाउँहरु नै नष्ट गर्नुपर्छ । पानी जम्मा हुने खाडलहरु पुर्ने, टायर, पुराना बोतल, गमलामा पानी जम्न नदिने, पानीको टंकीहरु सफा राख्ने गर्नु पर्दछ । सुत्दाखेरी सधैं झुलको प्रयोग गर्ने, घरको झ्यालढोकामा मसिनो जाली लगाउने, घरबाहिर निस्कँदा लामा बाउला भएका कपडा लगाउने, छालामा लामखुट्टैले नरोक्ने मल्हम लगाउने गर्नुपर्छ ।
अहिले डेंगुसँगै सिजनल भाईरल ज्वरो, कोभिड, जापानिज इन्सेफलाईटिस जस्ता रोगहरु पनि छन् । यी सबै रोगको पहिलो लक्षण ज्वरो नै हो । त्यसैले अचानक उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखा दुख्ने, जीउ दुख्ने जस्ता लक्षणहरु देखिए भने पहिलो शंका डेंगुको गर्नुपर्छ । तर कुन रोगका कारण ज्वरो आएको हो भनेर पत्ता लगाउन चिकित्सकको परामर्श लिनु नै राम्रो हुन्छ । डेंगु ज्वरो नियन्त्रणका लागि सिटामोलको प्रयोग गर्नुपर्छ । त्यसबाहेक ब्रुफिन, एस्पिरिन, निम्स जस्ता औषधि प्रयोग गर्नु हुँदैन ।
नाक, गिँजाबाट रगत बग्यो, शरीरमा राता डावर (बिमिरा) देखियो, छाती दुख्यो, श्वास फेर्न गाह्रो भयो, रिंगटा लाग्यो, छटपटी भयो भने डेंगु रोगका खतराका लक्षणहरु हुन् । यस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा गएर उपचार गराउनु पर्दछ ।
डेंगु रोगमा रगतमा प्लेटलेसको कमी हुन्छ । यस्तो अवस्थामा कतिपय बिरामीले घरेलु उपायहरु अपनाउनुहुन्छ । जस्तै मेवाको पात, बेसार जस्ता घरेलु औषधि खाएर प्लेटलेस बढ्छ भन्ने सोच छ । यस्ता वस्तुको वैज्ञानिक परीक्षण भएर प्रमाणित नभएकाले यिनले ठ्याक्कै राम्रो काम गर्छन् वा गर्दैनन् भन्न सकिंदैन । त्यसकारण यस्तो अवस्थामा चिकित्सकको परामर्श लिनु नै उचित हुन्छ ।
(डा. ज्ञवाली बकुलहर रत्ननगर अस्पताल, टाँडी र मौलाकालिका अस्पताल चौबीसकोठी भरतपुरमा कार्यरत हुनुहुन्छ ।)
056-493738 , 493798
info@maulakalikahospital.com
Bharatpur - 10 Chaubiskoti (In front of Airport)